बचतकर्तालाई बालेनको आग्रह : ‘बढी ब्याजको लोभमा सहकारीमा ठूलो पैसा लामो समय नराख्नुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बढी ब्याजको लोभमा सहकारीमा लामो अवधिको अत्यधिक बचत नगर्न बचतकर्ताहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय सहकारीमा नागरिकहरु ठगिने क्रम बढेसँगै उनले बचतकर्ताहरुलाई सचेत गराएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।’

मेयर शाहले सहकारी संस्थाको साधारणसभामा अनिवार्य उपस्थित समेत सदस्य/ बचतकर्ताहरुलाई आग्रह गरेका छन् । संस्थाको कारोबारको बारेमा नियमित रुपले जानकारी लिन समेत उनले सचेत गराएका छन् । साथै नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउन आग्रह गरेका छन् ।

सदस्य/बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला ||

प्रतिक्रिया दिनुहोस