समीक्षा भन्छिन्- अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस्

काठमाडौं : गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको बताउँदै उनी अन्तर्वार्तामै धरधरी रोएकी थिइन् । समीक्षा रोएको उक्त क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

नायक शाहलाई अदालतले पीडितलाई दस लाख धरौटी दिन आदेश दिएको थियो । तर उक्त रकम आफूले नलिएको समीक्षाले अन्तर्वार्तामा बताएकी छन् ।

उनले भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’ धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।

उनले भनेकी छन्, ‘दाइले दुई(तीन वर्ष दुबईमा बसेर दुःख(संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’

यति कुरा सुनाइरहँदा समीक्षाले आफूलाई सम्हाल्न सकिनन् । उनी अन्तर्वार्ताको बीचमै रोइन् । उनले रुँदै भनेकी छन्, ‘अर्को जन्ममा छोरी भएर जन्मिन नपरोस् ।’

प्रतिक्रिया दिनुहोस