नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले परीक्षणका लागि उजुरी दिएको अडियो मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ ।

अडियो परीक्षणका क्रममा शर्माको स्वर मिलेको नेपाल प्रहरीले जनाएको हो । उक्त अडियो बाहिर आएपछि डा.राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिनुभएको थियो । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभएको छ ।

शर्माले राणालाई पैसा बुझाएको भनेका थिए । प्रहरी नायब महानिरीक्षक कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी दिँदै ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी उल्लेख भएको स्वर सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको बताउनुभयो । कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ‘टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको कडायतको भनाई छ ।

सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज शर्मासँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस