आगामी असोज १ देखि द्रुत बस सेवा सञ्चालन गरिने

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।”

मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभयो ।

दु्रत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

दु्रत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो ।

मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

दु्रत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । हालका लागि अरु सवारीसाधनमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस