आम्रो पार्टीले दबाब दिएकोले सरकारले भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरुपनि भ्रष्टाचार बिरोधी अभियानमा लागेको बताउनु भयो ।

सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशीको कुरा हुने समेत बताउनु भयो । नेपाली जनता आफैँले कोरेको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभुति चाहिने उल्लेख गर्दै उहाँले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटकपटक दोहोर्‍याउनु भयो ।

सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पु¥याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । सभापति लामिछानेले सुदूरपश्चिमका जनताको अवस्थामा परिवर्तन ल्याउने गरी आफ्नो पार्टी अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस