गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ। करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका  फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले जानकारी दिए।

“तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो”, वनअधिकृत गोपालीले भने, “यो संरक्षित जनावर अन्तरगत पर्दछ।” कच्ची सडक नजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए।

“स्थानीयवासीले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर  भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो”, वन अधिकृत गोपालीले भने, “कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो।”

उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए। उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छोड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस