सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च

सुनसरी, साउन २९ । सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी परेपछि कोसी ब्यारेजमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो ।

सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको छ । सबै ढोका खोलिएको यो इतिहासमा तेस्रोपटक हो ।पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।

अहिले भने पानीको मात्र घट्दै गइरहेको छ । बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेण्ड बगेको रेकर्ड छ । कोशी ब्यारेजमा पानीको मात्रा बढेपछि ब्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले वर्षाले आइपर्ने बाढी, पहिरो विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस