फेसबुक ह्याक गरी १४ लाख ५८ हजार ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न ५ जनाको गिरोहलाई काठमाडौंको बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रण लिएकाहरुमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका- १७ रामनगर घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन तामाङ तथा कास्कीको पोखरा महानगरपालिका- १० घर भई हाल काठमाडौं नयाँ बसपार्क नै बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार सिमान्त विभिन्न फेसबुक ह्याक गर्थे । फेसबुक ह्याक भइसकेपछि विभिन्न बहाना बनाएर पैसा माग्ने काम भने अमन्तले गर्ने गरेका थिए । त्यस्तै अमन्तले मागेको पैसा बालेटबाट झिक्ने काम भने अनुप र शुभेक्षाले गर्ने र रोहनले सिमकार्ड उपलब्ध गराउने गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रहरीका अनुसार अहिलेसम्म २२ जना पीडितहरु सम्पर्कमा आएका छन् । गिरोहले हालसम्म १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको विवरण भेटिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस