मैदानमै ढलेका फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन

काठमाडौं, १ भदौ । फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनको ४१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । नेपाली सेनामा कार्यरत चौधरी अभ्यासका क्रममा बिहान करिब पौने १० बजेतिर भद्रकालीस्थित मैदानमै ढलेका थिए ।

मैदानमा ढल्नेबित्तिकै सेनाको मेडिकल टोलीले उनको प्राथमिक उपचार गरेको थियो । मैदानमै सिपिआरपछि तत्काल छाउनी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे । सेनाका हवल्दार चौधरीले सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका थिए ।

सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा जुटेका थिए । सर्लाही स्थायी घर भएका चौधरीको श्रीमती र दुई सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस