भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिमको एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ । आगामी तीन दिन देशका धेरै भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने सम्भावना मौसमविद् अधिकारीको भनाइ छ ।

यसैगरी आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस