परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री

सुदूरपश्चिम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ।

आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताए।

अध्यक्ष दाहालले भने , “यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।” देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र जनतामा भरोसा देखिएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उनले भने, “मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।”

प्रतिक्रिया दिनुहोस