लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताउनुभएको छ ।

कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रका खिलापमा धुमिल वातावरण बनाउने प्रयास भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “नेपालका राजनीतिक दलहरुमा प्रतिस्पर्धा र वैचारिक विविधता बाबजुद लोकतन्त्रका सम्बन्धमा एक ठाउँमा रहने राम्रो संस्कार छ, यो विरलै हुन्छ ।” सबै पार्टीबीच रहेको यस्तो सहमति र साझा धारणा महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

राष्ट्रियताका सवालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नीतिको प्रभाव रहेको उल्लेख गर्दै सभापति देउवाले कोइराला सानो देशका ठूला नेता भएको बताउनुभयो । बीपी कोइराला मुलुक अफ्ठ्यारो परिस्थितिमा ज्यान जोखिममा राखेर स्वदेश फिर्ता हुनुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले बीपीका विचार, राष्ट्रिय एकता र मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस