बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताउनु भएको छ ।

मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको बताउनु भएको हो ।

‘बालकुमारी घटनमा चिज देखिएको जस्तो छैन । त्यो दुई जना युवाहरुको जस्तो परिवेशमा जसरी हत्या भएको छ, इपिएसमा जे जस्ता गतिविविध भएका छन्, गाडी जलाउने जस्तो गतिविधि भएको छ, यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । जुन चिज त्यस्तो छैन जस्तो देखिएको छ, त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन त छैन ?’ प्रधानमन्त्री प्रचण्डले आशंका व्यक्त गर्नुभयो ।

कार्यक्रम नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको खिलावमा वातावरण बनाउने प्रयासहरु भइरहेको भन्दै त्यो सफल नहुने बताउनुभयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको त्यसलाई सुधार गर्दै लैजानुपर्ने उहाँको भनाई थियो ।

नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटना मन्त्रीको उपस्थितिले सृजना गरेको आंशका गर्नु भयो । धेरै सर्घषबाटअहिलेको उपलब्धि प्राप्त भएको भन्दै लोकतन्त्रको विकल्प राजतन्त्र कहिले पनि हुन नसक्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बालकुमारी घटनाका सम्बन्धमा सरकार अत्यन्तै गम्भीर हुनुपर्ने र गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने जोड दिनु भयो । घटनामा जहाँबाट गल्ती भएको छ उनीहरू दण्डित हुनुपर्छ उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सुशासनको फल दिने वेला शासकहरु चुक्दा जनतामा आक्रोस देखिएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बोल्ने जसपा नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरत सिंह भण्डारी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरुले संघीयतालाई बलियो बनाउन कानुन निर्माणमा ढिला गर्नु नुहुने जोड दिनुहुँदै लोकतन्त्रमाथि खतरा भए त्यो दलहरुबाट हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस