सूर्यदर्शन सहकारी प्रकरणः रवि लामिछाने, दिपेश पुन लगायत १८ विरुद्ध जाहेरी

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछाने विरुद्ध जाहेरी दिएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित बचतकर्ताले रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध जाहेरी दिएका हुन् ।

रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत विरुद्ध जाहेरी परेको हो ।

जाहेरीमा ग्यालेक्सि फोरके टेलिभिजन सञ्चालन गरिरहेको गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि, नेचर हब प्रालिले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले पीडितले पुरक जाहेरी दिएको बताए । पहिल्यै मुद्वा चलिरहेकाले पुरक अनुसन्धान सुरु हुने उनको भनाइ छ ।

‘यो मुद्वा पहिल्यै दर्ता भएको हो । त्यो विषयमा पुरक सूचना आएको हिसाबले पुरक अनुसन्धान हुन्छ’, उनले भने ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले माघ ९ गतदेखि जाहेरी दिन खोजेपनि प्रहरीले नलिएको बताए ।

सोमबार पनि अनौपचारिक रुपमा बुझाएको उनको भनाइ छ । ‘अनौपचारिक रुपमा बुझाइयो दर्ता भएको छैन । एसपीसापले दर्ता भएजस्तै सोच्नुस भन्नुभाछ’, उनले सुनाए ।

सुरुमा झन्डै ९० व्यक्ति र कम्पनिबिरुद्ध जाहेरी दिएपनि प्रहरीले विवरण पूरा नभएको भन्दै लिन आनाकानी गरेको उनले बताए । ‘अहिलेलाई विवरण खुलेका व्यक्तिको मात्रै जाहेरी दिएका छौं । अन्यको पनि विवरण समेटेर फेरी अर्को जाहेरी दिन्छौं’, उनले भने ।

ग्यालेक्सि फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेको छ ।

पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको छ । १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

२०६७\६८ सालमा दर्ता भइ सञ्चालनमा आएको सूर्यदर्शनले सुरुमा सभागृह चोकबाट सेवा दिएको थिथो । पछिल्लो समय कार्यालय नालाकोमुखमा स¥यो । गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेको हो ।

सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हालसम्म ४ जना पक्राउ परेका छन् ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, पुर्व सञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल पक्राउ परेका हुन् । उनीहरु पुर्पक्षका लागि थुनामा छन् ।

सहकारीका बचत पीडितकर्ताले यो विषयलाई लिएर माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै माघ १२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडित बचत फिर्ताको माग राख्दै समस्या सुनाए ।

यस्तै सोमबार जाहेरी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेलाई पनि पुस ६ गते भेटेर समस्या सुनाएका थिए । रविले भने आफुलाई पनि फसाएको भन्दै पन्छिन खोजेको पीडित पक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस