सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य: सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले कार्यतालिका कार्यान्वयनमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

“सदनमा यसपटक कार्यतालिका कार्यान्वयन हुने भएको । यसको कार्यान्वयनले विगतमा कुनै कारणले सदन प्रभावित हुने प्रवृत्तिलाई समेत न्यूनीकरण गर्नेछ । कार्यतालिका कार्यान्वयन हुँदा निर्धारित दिनको जिम्मेवारी सोही दिन पूरा हुनेमा विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले सर्वदलीय बैठक दलीय स्वार्थ र भागबन्डामा केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सर्वदलीय बैठक पार्टीको नेताको घर वा कार्यालयमा नभइ मुसहर बस्तीमा बस्नुपर्छ भन्नुभयो ।

उहाँले सर्वदलीय बैठक बसी आर्थिक शिथिलता र युवा पलायन रोक्ने विषय, र युवा लक्षित ‘प्रोजेक्ट होप अभियान’का विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । साथै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्दै विसं २०४८ पछिका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले रुग्ण भएका भौतिक आयोजनाको व्यवस्थापन र शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको सङ्कट समाधानका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । “सर्वदलीय बैठकमा सहकारी र लघुवित्त संस्थाको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्त सुरु विषयमा छलफल गरौँ”, उहाँले भन्नुभयो, “यो विषयलाई संसदमा ल्याएर छलफल गरौँ । यसका लागि कानुनी र प्रशासनिक तदारुकता देखाउनुपर्छ ।”

उहाँले संसदमा सत्तापक्षले बहुमतको बलमा प्रतिपक्षले राख्ने संशोधन फेल गराउने प्रवत्तिमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । “सांसदहरुले दर्ता गराउने सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव कार्यसूचीमै नचढाउने प्रवृत्ति गलत छ”, उहाँले भन्नुभयो, “नागरिकसँग प्रत्यक्ष जोडिने यस्ता अनेकौँ प्रस्ताव दर्तामै सीमित गराउने प्रवृत्तिको अन्त्य गर्न दल र सरकार सबैको ध्यानार्कषण गराउन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस