फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए ।

सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताए । उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए । उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस