‘आँखाले हेरेकै भरमा रोग निको पार्ने’ भन्दै ठगी गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं- आँखाले हेरेकै भरमा जस्तोसुकै रोग ठिक पारदिने भन्दै भ्रम छरेर ठगी गरिरहेका सीमान्त गुरु भनिने भरत केसीमाथि कारबाहीको माग गरिएको छ। केही समयअघि पोखरामा उनले ठगी धन्दा चलाएको भन्दै कारबाही गरिएको थियो।

तिनै व्यक्ति अहिले काठमाडौं आएर भ्रम फैलाइरहेका छन्। भ्रमको पछि लागेर दैनिक चार सय जना उनीकहाँ पुग्ने गरेको बताइएको छ। यसरी सर्वसाधारणलाई झुक्याएर उनले तीन दिनमै लाखौं असुलिसकेका छन्।

उपचार जस्तो संवेदनशील कुरामा भ्रम सिर्जना गरिएको भन्दै कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको हो। ‘हालै सामाजिक सञ्जालमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै भनिएको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुने किसिमबाट अस्वाभाविक एवं अतिरञ्जन गर्न खोजिनु दुखद पक्ष रहेको नेपाल चिकित्सक संघको ठहर छ।

‘यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अबिलम्व बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ,’ संघले भनेको छ।

प्रतिक्रिया दिनुहोस