कुलमानको पक्ष लिँदा नारायणकाजीमाथि खनिए सूर्य थापा, भने- ‘पार्टीको जिम्मेवारी यही हो र ?’

काठमाडौं, ३० भदाै । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाउनुभएकाे छ । आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ हुनुभएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भन्ने मनसाय राखेर श्रेष्ठले सामाजिक सञ्जालमार्फत लविङ गर्नुभएकाे थियाे ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुहुँदै श्रेष्ठले नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान आवश्यक भएकाले पुनः नियुक्ति हुनेमा आफू विश्वस्त भएको बताउनुभएकाे थियाे । उहाँले ट्वीटरमा लेख्नुभएकाे छ- ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्‍याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्‚ ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

प्रवक्ता श्रेष्ठकाे उक्त धारणाप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनु भएका थापाले सामाजिक सञ्जालबाटै आपत्ति जनाउनु भएकाे छ । उहाँले प्रवक्ताको लविङ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेर व्यंग्य गर्नुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ- ‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ? पार्टीको हाल जिम्मेवारी यही हो र? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र?’

स्वयंमसेवक परिचालनका सम्बन्धमा पनि थापा आफ्नै विभाग प्रमुखमाथि खनिनुभएकाे छ । प्रवक्ता श्रेष्ठले आइतबार आफ्नो सचिवालयले कोरोना नियन्त्रणका सम्बन्धमा स्वयंसेवक परिचालन गर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरबाट घोषणा गर्नुभएकाे थियाे । आफ्नो सचिवालयमार्फत स्वयमसेवक दस्ता परिचालन गर्ने घोषणा गरेको विषयमा समेत थापाले ‘कहिले मरिन् सासु? अहिले आए आशु’ भन्ने उखान हालेर आफ्नै प्रचार विभाग प्रमुखलाई उडाउनुभएकाे छ ।

‘…अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा ‘स्वयंसेवा दस्ता’ परिचालनको घोषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ,’ थापाले फेसबुकमा लेख्नुभएकाे छ ।

यस्तो छ थापाको स्ट्याटस

१.कुलमान घिसिङको पक्षरविपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?

‘नेपाल आमाका सपूत’ को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ?

पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो !

२. प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत “…अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता“ परिचालनको घोषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ ।

जसको पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्,

अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामको लागि संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नै नपर्ने ? वितेका छ महिनासम्म केही गर्नुनपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होला ? आपतविपद भनेको अहिले धून बजाउँदै आएको त होइन होला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो ?

म प्रचार विभागको उपप्रमुखको जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयो । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेको सम्बद्घ सबैमा निवेदन गर्दछु।
Source-News24Nepal

प्रतिक्रिया दिनुहोस