निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवबतीलाई जोडि मिलाइदिने , दुप्चेश्वर महादेव

निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवबतीलाई जोडि मिलाइदिने, जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा यस वर्ष डेढ लाख जनाले मेला भरेका छन्।यस वर्ष मेला साताव्यापी रुपमा लागेको थियो।सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ अर्थात् साविकको राउतबेशी गाविस वडा नं. ८ स्थित तादी खोलाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा यो वर्षको मूख्य मेला आइतबार सम्पन्न भएको छ ।

यस वर्ष मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा २५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ।
मेलामा सात दिनसम्म एक लाख ३० हजारले सहभागिता जनाएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।उनका अनुसार मेलामा सबै किसिमका मानिसहरु आएर दुप्चेश्वरमा पुजापाठ गर्नुका साथै दूध तथा नाम्लो चढाएका छन्।

यस मेला शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला हो।दोस्रो पशुपतिनाथले चिनिने यो मन्दिरमा धान्यपूर्णिमाको अवसरमा एक सातासम्म विशेष मेला लाग्ने पुजारी भगवानहरि धितालले बताए।विशेषगरी सन्तान नभएका दम्पत्तीहरु सन्तान हुने विश्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन्।बोली नफुरेका बालबालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा बोली फुर्ने र दाम्लो चढाएमा नभ्याएका गाई व्याउने जनविश्वास रहेको स्थानीय दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले बताए।

यो वर्ष मेलामा लाखौको संख्यामा भक्तजनले सहभागिता जनाएको दुप्चेश्वर मन्दिर संरक्षण समितिले जनाएको छ।मेला भर्न भारतका साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लाबाट भक्तजनहरु आएको मन्दिर संरक्षण समितिका महासचिव कुमार पण्डितले जानकारी दिए।दुप्चेश्वर मन्दिर नजिकै कच्ची मोटरबाटो पुगेकाले भक्तजनहरुलाई आवतजावतमा सहज भएको छ।पौराणिक कथनअनुसार सयौं वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको स्थानीय दुप्चेश्वर माविका शिक्षक बलराम आचार्यले बताए।

मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रर्दशन र स्थानीय उत्पादनहरुको बिक्रि वितरण समेत हुने मेला साँस्कृतिक र आर्थिक दृष्टिकोणबाटसमेत महत्वपूर्ण मानिदै आएको दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष योविन्द्रसिह तामाङको भनाई छ ।दुप्चेश्वर महादेव सबै धर्मको आस्थाको केन्द्रसमेत रहेकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीयले बताएका छन्।राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक विशेष र महत्वपुर्ण रहेको छ। मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको निकै सहभागिता रहेको थियो।

एकादशीदेखि नै सुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए ।सदियौं वर्ष पहिले राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले बाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएको उनले बताए।

एकादशीदेखि नै सुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए ।सदियौं वर्ष पहिले राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले बाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएको उनले बताए।

दुप्चेश्वरको मेलामा ३० जना स्वंसेवक खटाएर मेलाको व्यवस्थापन तथा सहजीकरण गरिएको दुप्चेश्वर गापाकी उपाध्यक्ष अन्जु आचार्यले बताइन्।भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ। अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनेर दुप्चेश्वरको प्रख्याती छ।समुद्र मन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइकुण्ड गएको किंवदन्ती पनि छ।

यहाँ धान्य पूर्णिमा, फागु पूर्णिमा र शिवरात्रीमा विशेष मेला लाग्ने गरेको छ।मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्र्रो मुख्य आकर्षक रहन्छन्। दुप्चेश्वर गाउँपालिका-६ राउतबेंसीमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि सुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहान लाग्ने भए पनि सार्वजनिक बिदा परेकाले यस वर्ष आइतवारसम्म दर्शन र पूजाराधना गर्ने भक्तजनको संख्या एकलाख ३० हजार पुगेको दुप्चेश्वर क्षेत्र संरक्षण समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस