के हो ह्वाइट फंगस ? यो झन खतरनाक, संक्रमितको मस्तिष्क र श्वासप्रश्वास सम्म असर

पछिल्लो समय भारतमा कालो र सेतो ढुसी (ब्लाक एन्ड ह्वाइट फंगस) को समस्या बढिरहेको छ । कोरोना संक्रमणबाट निको भएकामा यस्तो समस्या बढी देखिएको बताइएको छ । यो एक किसिमको संक्रमण हो । यसले संक्रमित व्यक्तिको ज्यानै जाने खतरा पनि हुनसक्छ ।
पछिल्लो समय देखा परिरहेको फंगसमध्ये ह्वाइट फंगस अझ खतरनाक रहेको विज्ञहरूले बताएका छन् । यसको उपचारमा ढिलाइ गरे संक्रमित बचाउन नसकिने विज्ञहरूको भनाइ रहेको छ ।

यद्यपि ‘म्यूकरमायकोसिट्स’का कारण संक्रमण हुने यी संक्रमण नयाँ समस्या भने होइनन् । यी दुवै यसभन्दा पहिले नै अस्तित्वमा थिए ।
के हो ह्वाइट फंगस ? यो एक किसिमको संक्रमण हो । यसले विशेषगरी फोक्सोमा घातक असर गर्छ । यति मात्र नभएर शरीरका अन्य विभिन्न भागमा पनि उस्तै किसिमको आक्रमण गर्छ । यसले संवेदनशील अंग मस्तिष्क, श्वासप्रश्वास तथा पाचन प्रणालीमा घातक असर गर्छ ।

ह्वाइट फंगसका लक्षणहरू : कोभिड–१९ का लक्षणसँग यसका लक्षणहरू मिल्दोजुल्दो हुने विज्ञहरूले बताएका छन् । फोक्सोमा असर परेपछि छाती दुख्ने, खोकी लाग्ने, श्वास लिन गाह्रो हुने, टाउको दुख्ने तथा सुन्निनेलगायतका लक्षण देखिन्छन् । को छन् जोखिममा ? कम प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले आक्रमण गर्छ । त्यस्तै सरसफाइ नगर्ने वा यो संक्रमण गराउने ढुसीको सम्पर्कमा भएमा संक्रमण हुन सक्छ । मधुमेह भएका व्यक्ति, क्यान्स लागेका तथा लामो समयदेखि उपचाररत बिरामीमा यो संक्रमण हुने खतरा बढी हुन्छ ।

के हो ब्लाक फंगस ? म्यूकोर्मायकोसिस अर्थात् ब्लाक फंगसले अनुहार, नाक, आँखाको वरपर, मस्तिष्कलगायतमा संक्रमण हुन्छ । यसले आँखाको ज्योति गुम्ने खतरा बढी हुन्छ । यति मात्र नभएर यसले फोक्सोमा समेत खराब असर गर्न सक्छ । यसका लक्षणहरू पछिल्लो समय कोरोनाबाट निको भएका व्यक्तिलाई यसले आक्रमण गरिरहेको छ । यो संक्रमण हुँदा नाकको रङ फुस्रो हुँदै जाने, आँखाको ज्योति मधुरो हुँदै जाने, एकापट्टिको गाला दुख्ने, दाँत दुख्ने, छाती दुख्ने र श्वास लिन गाह्रो हुने हुन्छ । खोक्दा रगतका छिटा बाहिर आउने पनि हुन सक्छ । यसको उपचार समयमा गरिएन भने संक्रमितको ज्यान जान सक्छ ।

को छन् त जोखिममा ? मधुमेह, कोभिडका बिरामी र लामो समयदेखि औषधि सेवन गरिरहेका व्यक्तिमा यसको जोखिम बढी हुने बताइएको छ । त्यस्तै लामो समय आईसीयूमा उपचार गरिएका बिरामीमा पनि यो संक्रमण हुने जोखिम रहेको विज्ञहरूले बताएका छन् ।
(एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस