नेपालीले माल पाएर चाल नपाएको औषधिजन्य गुणले ‘भरिपूर्ण करीपत्ता’

केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।

‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम , यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु । करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।

प्रतिक्रिया दिनुहोस