विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण

काठमाडौँ, २ साउन (रासस) : काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले राससलाई जानकारी दिनुभयो । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रुपमा स्थापित गर्ने गरी काम अघि बढेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २६ हजार रोपनी जग्गामध्ये २० हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ शहर बनाउन लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ नयाँ शहरी आयोजना गत वर्ष स्थापना गरी सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

“आयोजना सञ्चालन गर्न तीनवटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, तीनवटै नगरपालिकाका कानूनी सल्लाहकार, जग्गा धनी, मोही र सरोकार भएका सरकारी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी ४० सदस्यीय समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो । समितिको अध्यक्षमा कागेश्वरी मनोहराका नगर प्रमुख थापा तोकिनुभएको छ ।

यसैगरी सहअध्यक्षमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ रहनुभएको छ । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकताअनुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो ।

आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सो को प्रतिवेदन नगर कार्य पालिकासमक्ष पेश गरिने भएको छ । आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ मा आयोजना कार्यालय स्थापना गरी सम्भाव्यता अध्ययनको काम पूरा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस