अघि बढ्यो ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया

काठमाडौँ, २७ साउन (रासस) : सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो ।

आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारी साधन चार लेन उठेर ग्वार्काेतिर लाग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा विजय जैसीले बताउनुभयो । ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । उहाँले भन्नुभयो, “माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।”

सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा जैसीले बताउनुभयो । परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको उहाँले बताउनुभयो । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फ्लाइओभर अहिले नेपालका लागि नौलो हो ।”

विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जनाएको छ ।

‘फ्लाइओभर’ बिएण्डबी अस्पताल नजिकै ग्वार्काेबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने निर्देशक डा जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैतर्फ सवारी साधन नरोकिई चल्न सक्नेछन् ।”

उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थ मन्त्रालयले चालु आवमा रु ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुने उहाँले बताउनुभयो ।

सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने गरी योजना बनाइएको छ । अहिलेसम्म ‘फ्लाइओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा जैसीले बताउनुभयो । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुलललगायतका ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालीले सिक्नुपर्छ भन्ने सोचले पनि नेपाली व्यवसायीलाई नै दिन लागिएको हो ।”

सुरु भएको दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्ने कुरामा ध्यान दिइएको निर्देशक डा जैसीले बताउनुभयो । उहाँका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारी साधन अन्यत्रबाट अर्कातर्फ मोड्ने (डाइभर्ट) गर्नुपर्ने उहाँले बताउनुभयो । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको भए पनि बाहिर बनाएर क्रेनले उचालेर राखिने गरी डिजाइन रहेको छ ।”

यस वर्ष ग्वार्काेमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना छ । चीन सरकारले झण्डै तीन वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस