संशोधन गरेर भएपनि एमसीसी पास गर्नुपर्छ : युवा अभियन्ता मंगल थापा

काठमाडौं, पुस । सामाजिक अभियन्ता मंगल थापाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास गर्नुपर्ने धारणा राखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले नेपाल सरकारले संशोधन गरेर भएपनि एमसीसी पास गरेर अघि बढ्नुपर्ने र अमेरिकासँगको दौंत्य सम्बन्ध बिर्गान नहुने बताएका हुन् ।

थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बौद्धिक व्यक्तित्वको संज्ञा दिए । उनले एमसीसी नेपाली जनताको हितमा भएको समेत जिकिर गरे । उनले सबै पार्टीसँगको सहकार्यमा नेपालको हितविपरित भएका बुँदालाई संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले एमसीसी सम्झौताबारे बाहिर भएको हल्लाको पछि कोही लाग्न नहुने पनि उनको भनाई थियो । उनले आफू देशको सचेत र स्वतन्त्र युवा भएकोले नाताले जनतालाई एमसीसीबारे स्पष्ट जानकारी दिन खोजेको बताए । उनले भने,‘देशको लागि जीवन फालेका नेता हुन् देउवा, कांग्रेस सधैं देश र जनताको हितमा छ, सबैभन्दा पुरानो पार्टी भएकोले कांग्रेस कुनैपनि हालतमा नेपाली जनताको हितविपरित जानै सक्दैन् । केही संशोधन गरेर भएपनि एमसीसी पास गराउनुपर्छ । यो अनुदान देशको हितमा छ ।’

अमेरिकी सेना आएर नेपालमा बुट बजार्ने हल्लामात्र भएको समेत थापाले स्पष्ट पारे । थापाले आफु सत्तामा हुँदा एमसीसी पास गर्नुपर्छ भन्ने र सत्ता बाहिर जानेबितिक्कै राष्ट्रघाती हो भन्दै हिँड्ने नेताहरुको कारण नै आज देशको वातावरण बिग्रँदै गएको उनले आरोप लगाए ।

बौद्धिक र शिक्षित उच्च व्यक्तित्वहरुले गरेको सम्झौताले कुनैपनि हालतमा नेपाललाई बेफाइदा नपुग्नेमा आफु विस्वस्त रहेको पनि बताए । सडकमा बसेर एमसीसीबारे अनावश्यक व्याख्या नगर्नमेत उनले आग्रह गरे । एमसीसी पास गरे गठबन्धन टुट्ने हल्लाको पछि नलागेर प्रधानमन्त्री देउवा कुनैपनि हालतमा अगाडी बढ्नुपर्ने उनले धारणा राखे ।

अमेरिका ठुलो राष्ट्र हो भन्दै उनले अमेरिकालाई चिढाएमा जे पनि हुनसक्ने पनि उनको टिप्पणी छ । राजनीतिक नेताहरुले सबै राष्ट्रसँग राम्रो सम्बन्ध राख्नुपर्ने उनले धारणा राखे । थापाले हस्ताक्षर भएको समयमा कांग्रेसले जनतालाई राम्रोसँग बुझाउन नसकेकोले यस्तो अवस्था आएको बताए । थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालहरुले देशको लागि ठुलो योगदान गरेको पनि स्मरण गराए ।

उनले २/४ जना युवाको भिड जम्मा गरेर एसएलसी पनि पास नगरेको युवाले आफुलाई बादशाह ठान्नु दिवासपना मात्र भएको पनि जिकिर गरे । उनले यो मुलुकको सुन्दर भविष्यको लागि जनतालाई बुझाएर संशोधन गरेर भएपनि एमसीसी पास गर्न समेत प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस