काठमाडौंमा अन्धकार हुने, कुलमानले दिए सूचना

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा थप ट्रान्सफरमर राख्न नदिए अन्धकार हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपत्यकामा प्रसारण क्षमताभन्दा बढी विद्युत् आपूर्ति गरिरहेको बताएका छन्।

‘उपत्यकामा अहिले कसैलेप नि घरको अगाडी ट्रान्सफरमर राख्न दिदैनन्। पुरानो वितरण प्रणालीले ४५० मेगावाट भन्दा बढी विद्युत् प्रसारण गर्न सक्दैन’, घिसिङले भने, ‘अहिले उपत्यकाको माग ४५० मेगावाट नै पुगेको र केही ठाउँमा आपूर्तिमा अवरोध आउन शुरु भइसकेको छ। थप ट्रान्सफरमर राख्न नपाएपछि अन्धकार हुन सक्छ।’

उपत्यकाको वितरण प्रणालीमा १०/१५ वर्ष पुराना ट्रान्सफरमरहरु अहिले पनि चलिरहेका छन्। उक्त समयमा त्याहाँको जनसंख्यालाई पुग्ने गरि ट्रान्सफरमर राखेपनि अहिले जनसंख्या धेरै नै बढीसकेको छ। बढेको जनसंख्याको माग अनुसार ट्रान्सफरमरले विद्युत् आपूर्ति गर्न नसक्दा केही ठाउँमा पीक समयमै विद्युत आपूर्तिमा अवरोध आइरहेको घिसिङले स्वीकारे।

संसारमा कहि पनि ट्रान्सफरमर पड्किएर घरमा वा मानिसमा क्षति नपुगेको भन्दै नेपालमा भने जनतालाई यो कुरा बुझाउनै नसकिएको उनको दुखेसो छ।

ट्रान्सफरमर बिग्रेपछि मर्मत गर्ने बेला प्राधिकरणका कर्मचारीको ज्यान गएपनि बाटोमा राखेकै कारण अहिलेसम्म कुनै एक जना सर्वसाधारण व्यक्तिको ज्यान गएको वा घर अगाडी भएका कारण घरमा क्षति भएको घटना नै नभएको उनले बताए।

‘नयाँ ठाउँमा ट्रान्सफरमर राख्न त दिदैनन्, दिदैनन्, पुरानो ट्रान्सफरमर निकालेर नयाँ राख्छौ भन्दा पनि दिदैनन्’, घिसिङले भने, ‘उपत्यकामा १०/२० मेगावाट माग थपियो भने कति ठाउँमा लाइन जाने हो भन्ने कुराको ठेगान नै छैन।’

सडकमा ट्रान्सफरमर राख्न खोज्दा पनि नदिएपछि स्थानीयलाई कसरी कुरा बुझाउने भन्ने प्राधिकरणको मुख्य चिन्ताको विषय भएको छ। प्रसारण लाइन भूमिगत गरेपनि ट्रान्सफरमर भूमिगत गर्न मिल्दैन। सतहमा ट्रान्सफरमर राख्न नदिएपछि कहाँ लगेर राख्ने त ?, घिसिङले प्रश्न गर्दै भने।

प्रतिक्रिया दिनुहोस