कतारले कामदारको भिसा र पासपोर्ट सम्बन्धी नयाँ नियम ल्यायो, ८ लाखसम्म जरिवाना

दोहा : कतारले आवासिय अनुमति बनाउन तथा नविकरण गर्न श्रमिकसँग लिएको राहदानी (पासपोर्ट) फिर्ता नगर्ने रोजगारदातालाई २५ हजार रियाल (झण्डै ८ लाख) जरिवाना गर्ने चेतावनी दिएको छ ।

कतारको गृह प्रशासन सम्वन्धि काम गर्ने आन्तरिक मन्त्रालयले आवासिय अनुमति पत्र बनाउने वा नविकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिएको हो ।

द पेनन्सुल कतारका अनुसार कतारको आन्तरिक मन्त्रालयले सोमवार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको हो । सो वेबेनारमा विभिन्न मुलुकका गरी २ सय ८० जना भन्दा बढी सहभागि रहेको समाचारमा जनाइएको छ ।
सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधानिक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवाहरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।

कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधानिक बनाउन दिएको समयावधिभित्र कतारमा अवैधानिक रुपमा बस्दै आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्षा गरेको छ । यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले आफ्नो बसाईलाई वैधानिक बनाउन आवेदन दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस