सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौँ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै आज (आइतबार) बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।

त्यस्तै, बालबालिकालाई कोभिडवाट जोगाउन १५ दिन विद्यालय बन्द गर्ने प्रस्ताव राजनीतिक दलका नेताहरुले राखेका छन् । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यस्तो प्रस्ताव आएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि त्यसवाट बालबालिकालाई जोगाउन १५ दिन विद्यालय बन्द गर्न प्रस्ताव गरिएको हो ।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी संघको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तरक्रियामा उनले देशमा फेरि कोरोना संक्रमणको जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन् ।

“हामीले १८ वर्षमुनिका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौँ । छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ,” उनले भने ।

पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरको सुझाव छ । सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याए ।

राजनीतिक दलहरूले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए । सबै पार्टीका नेताहरूले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यकर्ताहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन लगाउनुपर्ने उनले बताए । कार्यक्रममा सहभागी शिक्षाविद् र सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस