कोटेश्वरमा टिपरको ठक्करबाट प्रकाशको मृत्यु, पछाडि बस्ने लामाको गोडा भाँचियो

माघ ५, काठमाडौँ | काठमाडौँको कोटेश्वरमा मंगलबारराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु रहेका छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए।

उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेपलाञ्चोक नमोबुद्द न.पा. घर भई बनेपा बस्ने बर्ष ३१ को देव लामाको बायाँ गोडा भाच्चिएको र हाल ट्रमा सेन्टरमा उपचार भईरहेको भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताए।

केही साताअघि पनि काठमाडौं प्रहरीले ठक्कर दिएर भागेको सवारी साधनलाई सीसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो । त्यस घटनामा एक पैदल यात्रीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस