काठमाडौंको बूढानीलकण्ठबाट अचम्मका ब्यक्ती पक्राउ, धेरै ठाउँमा भ्याएछन

काठमाडौं, माघ २० – बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

बाजुरा बुढीनन्दा नगरपालिका-१ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ बस्दै आएका ४४ वर्षीय विष्णुबहादुर कार्की प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार बूढानीलकण्ठबाट पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता कोइरालाका अनुसार उनलाई विभिन्न मुद्दामा अदालतले सजाय सुनाएको छ। उच्च अदालत पाटनले गत वर्ष माघ ६ गते उनलाई बैंकिङ कसुरको मुद्दामा ७ दिन कैद र २७ लाख जरिवाना सुनाएको थियो।

त्यस्तै, २०६० साल पुस १० गते पनि वैदेशिक रोजगार मुद्दामा तीन वर्ष कैद, २ लाख ५० हजार जरिवाना र बैंकिङ कसुरमा एक वर्ष कैद, ३० हजार जरिवाना सुनाएको थियो।

अदालतले सजाय सुनाए पनि फरार रहेका उनलाई महाशाखाले पक्राउ गरी फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पठाएको छ।

त्यसैगरी उनले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको खुलेको महाशाखाले जनाएको छ।

त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता कोइरालाले बताए। उनीबाट कोही ठगिएको भएमा महाशाखाको सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस