उपचार नपाउँदा खोरमा थुनिन वाध्य एक महिला , थुनिएको ६ वर्षपछि उद्धार हुदै !

पाँचथर – मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको आइतबार उद्धार गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको थाहा पाएपछि राष्ट्रिय महिला आयोगले उनको उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गउँपालिकाले नेम्वाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका हुन् । महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गउँपालिकालाई पत्र लेखी उद्धार गरेर काठमाडौं पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ अवस्था कमजोर भएको जानकारी पाएपछि आयोगको ध्यानाकर्षण गरेको आयोगकी सदस्य तथा १ नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिनुभयो । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्दै निको भएपछि परिवारमा पुनः स्थापना गर्नेसम्मको जिम्मेवारी आयोगले नै लिएको उहाको भनाइ छ ।

उनलाई पहिलो तीन महिना ‘कोसिस नेपाल’मा राखेर उपचार गरिने र पछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको पनि खतिवडाले बताउनुभयो ।

उनको उद्धारको क्रममा प्रजिअ न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरू पीडित युवतीको घरमै पुगेका थिए । नेम्वाङलाई काठमाडौंसम्म लैजान लाग्ने यातायात सहितका सबै प्रकारका खर्च फाल्गुनन्द गाउँपालिकाले व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस