तरुलका पोषक र औषधीय गुणहरु जान्नुहोस् :

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न सकिन्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन ।

तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।

तरुलका खानुका फाइदा – तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । – तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ । – छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो हुन्छ । – यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

– तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ । – यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ । – तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ । – यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ । (पोषणविद नानीशोभा शाक्यसँग गरिएको कुराकानीमा आधारित)

यसैगरी आलु एक यस्तो फल वा तरकारी हो, जसको प्रयोगबिना तरकारी अधुरो रहन्छ । आलु मन नपर्ने सायदै कोही होलान् । आलु खानु भनेको स्वादको लागि मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । कारण, आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ । एक सानो कचौरा बराबरको भात खानु र एक मध्यम आकारको आलु खानु भनेको समान मात्रामा कार्बोहाइड्रेट प्राप्त गर्नु हो । आलुको प्रयोग तरकारी, पकौडा, अचार, चिप्स, मोमो लगायत अन्य थुप्रै रुपमा गर्न सकिन्छ ।

आलुलाई कसरी खान मन छ त्यसरी नै बनाएर खान सकिन्छ । आलु एक मात्रै यस्तो चीज हो जसलाई जुनसुकै तरकारीमा राखेर खान चाहे त्यसमै त्यो घुलमिल भएर जान्छ । तर, आलुको बोक्रालाई प्रायः सबैले ताछेर फाल्ने गरेको पनि पाइन्छ । कतिपयलाई आलुको बोक्रा मन नपरेर आलुको गुदी खाने र बोक्रालाई फाल्ने गर्छन् । तर, आलुको बोक्रा खानुपनि निकै नै फाइदाजनक मानिन्छ । आलु खानुका साथै आलुको बोक्रा खाँदा हुने फाइदाबारे तपाईंलाई जानकारी दिँदैछौं । आलुको बोक्रामा विभिन्न पोषक तत्त्व पाइन्छ ।

जसले शरीरमा खराब कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्छ भने सोडियमको मात्रालाई पनि नियन्त्रणमा राख्ने काम गर्छ । साथै आलुको बोक्रा सेवनले तौललाई नियन्त्रण गर्ने काम गर्छ भने अन्य थुप्रै फाइदा आलुको बोक्राले गराउँछ । आलुको बोक्रामा पर्याप्त मात्रामा पोटाशियम पाइन्छ भने आइरन र फाइबरको पनि राम्रो स्रोत मानिन्छ । यस्तै आलुको बोक्रा भिटामिन बी ३ को पनि राम्रो स्रोत हो । त्यसैगरी आलुको बोक्रामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन सी पनि पाइन्छ । जसले तपाईंको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।

आलुको बोक्रामा विभिन्न प्रकारका एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरलाई क्यान्सरको जीवाणुबाट सुरक्षित राख्नमा मघत गर्छ । यदि तपाईं कोलेस्ट्रोलको समस्यबाट पीडित हुनुहुन्छ भने आलुको बोक्रा नफालि तरकारी खानु फाइदाजनक हुन्छ । यस्तै आलुको बोक्राको नियमित सेवनले मुटु स्वास्थ्यलाई पनि राम्रो बनाउने काम गर्छ भने आलुको सेवन बोक्रासहित गर्नाले त्यसमा पाइने पोटाशियम, म्याग्नेशियम र क्याल्सियमले तपाईंको रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । त्यसैगरी आलुको बोक्रामा पाइने खनिज पदार्थले तपाईंको हड्डिलाई पनि बलियो बनाउने काम गर्छ ।

आलुको बोक्रा स्वास्थ्यका लागि मात्रै नभई सौन्दर्यका हिसाबले पनि प्रयोग गर्न सकिन्छ । यसले तपाईंको छालामा भएका कालोपनलाई हटाउने र सफा बनाउने काम गर्छ । आलुको बोक्राको जुस बनाएर छालामा लगाउन सकिन्छ । यस्तै आलुको बोक्राको जुसलाई कपालमा प्रयोग गर्दा तपाईंको कपाल झर्नबाट रोक्छ र कपाल बढ्नमा पनि सहयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस