पोखराको तालचोकमा बेहुला चढेको कार दुर्घटना

पोखरा । स्याङ्जाबाट नवलपुरको गैंडाकोट दुलही लिन गएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं. को जीप दुर्घटनामा परेका हुन् ।

पूर्वान्ह ९ः५० बजेको समयमा भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ ।

घटनास्थलमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको डाँडानाक प्रहरी चौकीले जनाएको छ । सई निउरेका अनुसार दुवै सवारी नियन्त्रणमा लिएर चालकहरुसँग घटना सम्बन्धमा बयान लिने काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस