लता मङ्गेशकरको नेपाल साइनो : दीर्घायुका लागि पशुपतिमा पूजा तर प्रसाद पुग्न नपाउँदै निधन

बीबीसी : गत साता गायक रामकृष्ण ढकाललाई भारतको मुम्बईबाट लता मङ्गेशकरका सहयोगीको फोन आयो। मङ्गेशकरको स्वास्थ्य जटिल बन्दै गएको जानकारी गराउँदै सहयोगीले प्रख्यात भारतीय गायिकाको दीर्घायुका लागि पशुपतिनाथमा ‘पूजा गर्न सकिन्छ कि’ भन्ने मनसाय व्यक्त गरे।

ढकालले आग्रहलाई अस्वीकार गर्ने कुरै थिएन। ढकालको टोलीले गत बुधवार पशुपतिनाथ परिसर पुगेर मङ्गेशकरको दीर्घायुको कामना गर्दै पूजा अर्चना गर्‍यो। “हामीले तत्कालै उहाँका सहयोगीलाई पूजाको तस्बिर पठाइदियौँ,” ढकालले बीबीसीसँग भने।

“आइतवार पूजाको प्रसाद पठाउन लागेका थियौँ तर उहाँ नरहनु भएको खबर आयो। प्रसाद पठाउन ढिलो गरिएछ भन्ने लागेर मन साह्रै खिन्न भयो।”

ढकाल-मङ्गेशकर सम्बन्ध

चर्चित नेपाली आधुनिक गायक ढकालका भनाइमा उनको मङ्गेशकरसँग सम्पर्क भएको करिब एक दशकअघि हो।ढकालले आफ्ना कैयौँ गीतहरू मुम्बईमा गएर रेकर्ड गराएका थिए।

उनको मुम्बई आउजाउ चलिरहन्थ्यो। सङ्गीतकार शिखर सन्तोष मुम्बईमै बसेर काम गरिरहेका थिए। उनै सन्तोषको सम्पर्क सूत्रमार्फत ढकालले करिब एक दशकअघि मङ्गेशकरसँग गीत गाउने अवसर पाएका थिए।

“आनन्द अधिकारीले लेख्नु भएको गीत थियो, सन्तोषले सङ्गीत गरेर एक पटक प्रयास गरौँ न त भन्ने कुरा भयो,” ढकालले भने। “त्यसपछि मैले रेकर्ड गरेको गीतको डमी उहाँको सहयोगमार्फत मङ्गेशकरकहाँ त्यसलाई पुर्‍याइयो।”

ढकाल-मङ्गेशकर पहिलो संवाद

मङ्गेशकरले ढकालको गायन मन पराइन्। उनीसँग नेपाली गीत गाउन तत्पर भइन्।“एक दिन म ड्राइभ गरिरहेको थिएँ, लता मङ्गेशकरका सहयोगीको फोन आयो,” ढकालले भने, “दिदी तपाईँसँग कुरा गर्न चाहनुहुन्छ भनेर उहाँले फोन दिनुभयो।”

“म एक छिन त अतालिएँ। के बोल्ने, के बोल्ने भयो।”

कसरी कुरा गर्ने भन्ने असमञ्जसमा परेका ढकाललाई मङ्गेशकरले फोनमा भनिन्, “रामकृष्णजी तपाईँले जुन गीत गाएर पठाउनु भएको थियो त्यस्तो त म गाउन सक्दिन होला, तर म उत्कृष्ट प्रयास गर्छु।”“उहाँले त्यसो भन्दा उहाँको डाउन टू अर्थ व्यक्तित्व झल्किन्थ्यो,” ढकाल भन्छन्।त्यसपछि ढकाल र सन्तोष मुम्बई गए। उनीहरूले मुम्बई गएको भोलिपल्टै मङ्गेशकरसँग गीत रेकर्ड गराए।

प्रतिक्रिया दिनुहोस