कमल थापाले गीता छोएर आएको कसम तोडे : गीता छुँदै राप्रपा नफुटाउने बाचा गरेका थिए

अनेक पटक टुटफुटको राजनीतिबाट गुज्रिएको पूर्व पञ्च र राजावादीहरु संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एक पटक विभाजित भएको छ। राजावादी र पूर्वपञ्चहरुले नेतृत्व गरेका तीनवटा समूहबीच २०७६ फागुन २८ गते एकीकरण घोषणा भएर यही मंसिरमा एकता महाधिवेशन गरेको राप्रपा फेरि फुटतर्फ गएको हो।

मंसिर ११, १२ र १३ गते काठमाडौंमा भएको एकता महाधिवेशन अप्रत्यासित रुपमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा विभाजन गरेका हुन्। उनले मंगलबार एक विज्ञप्ति निकाल्दै राप्रपा छाडेको घोषणा गरे। उनले सोमबार मात्रै काठमाडौंमा आफूनिकटहरुको भेला गरेर नयाँ यात्राका लागि तयार रहन भनेका थिए।

एकता महाधिवेशनमा आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनका लागि मंसिर २७ र माघ १६ गते दुई पटक दिएको निवेदनमा सुनुवाइ नभएको भन्दै थापाले राप्रपा छाडेका हुन्।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, उनले भनेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए नि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।’

तर उनैले २०७६ फागुन २८ गते काठमाडौं भएको एकीकरण घोषणा सभामा उनै थापाले हिन्दुहरुको धर्म ग्रन्थ गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए। त्यसबेला पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा संयुक्त, प्रकाशचन्द्र लोहनी नेतृत्वको अर्को समूह कमल थापा नेतृत्वको राप्रपाबीच एकीकरण भएको थियो।

त्यही सहमति अनुसार राप्रपालाई तीन पाइलटले चलाउने सहमति भएको थियो। त्यसअघि नेकपामा दुई पाइलट अर्थात केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड थिए। तर २०७६ फागुन २८ को एकता सभामा गीता छोएर पार्टी नफुटाउने कसम खाएका कमल थापा त्यसलाई बिर्सिँदै नयाँ यात्रामा निस्किएका छन्।

उनले त्यसबेला प्रतिज्ञा गर्दै कुनै हालतमा राप्रपा फुट्न नदिने बताएका छन्। ‘सबै कार्यकर्ता र देश तथा विदेशबाट टेलिभिजन हेरिरहनु भएका, पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु म कहिले पनि पार्टी फुटाउने छैन’, उनले भनेका थिए, ‘म कहिले पनि पार्टी फुटाउने छैन। तपाईंहरुलाई विश्वास लागेन? मैले गीता लिएको छु। यो गीतालाई हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन।’

प्रतिक्रिया दिनुहोस