राप्रपामा पहिरो जाँदै : कमल थापा पछि यि संस्थापक नेताले पनि गरे राप्रपा छो डेको घोषणा

काठमाडौ,राष्ट्रिय प्रजातन्त्र पार्टीमा पहिरो जाने क्रम जारी छ । मंगलवार कमल थापाले राप्रपा छोडेको घोषणा गरेका थिए । बुधवार अन्य संस्थापक नेताहरुले पनि कमल थापाकै कदम पछ्याएका छन् । बुधवार चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपा छोडेको घोषणा गरेका छन् । कमल थापाले राप्रपा छोडेको घोषणा गरे लगत्तै आफु निकट नेताहरुको भेला गरेका थिए। उनको समर्थनमा लागेका अन्य नेताहरु पनि राप्रपा छोड्ने निर्णयमा पुगेका हुन् ।

दुई संस्थापक नेताहरुले बुधवार सामाजिक सञ्जालमार्फत पार्टी त्याग गरेको घोषणा गरेका हुन् । उनीहरुले पार्टी छोड्नुको कारण भने खुलाएका छैनन् । गुरुङलले लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।’

पौडेलले राप्रपा छोड्दा दुस्खी र भावुक बनेको बताएका छन् । उनको स्टाटस यस्तो छ, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुस्खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस् ।’

यि नेताहरु जस्तै अन्य केही नेताहरु पनि प्रपाबाट अलग्गिने तयारीमा रहेको बुझिएको छ । तर, कमल थापा पक्षधरले सामूहिकरुपमा भने पार्टी छाड्ने छैनन् । यसो गर्दा पार्टी फुटाएको र गीताको कसम तोडेको आरोप लाग्ने भएकाले व्यक्तिगतरुपमा अलग हुने रणनीति अपनाइएको हो ।

पूर्वराजाजा ज्ञानेन्द्र शाह र निर्मल निवासले महाधिवेशनमा हस्तक्षेप गरेको भन्दै कमल थापा असन्तुष्ट थिए । उनले छानबिनको माग समेत गरेका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनसँग शनिबार भएको भेटवार्तापछि राप्रपामा आफ्नो स्थान नरहेको निष्कर्षसहित थापा पार्टीबाट बाहिरिएका हुन् ।

उनले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन् । हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ । उनले आफु निकटहरुलाई नयाँ दल दर्ताका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । राप्रपाबाट थापा बाहिरएलगत्तै पार्टी छाड्नेको लहर सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस