दिदीलाई ५० रुपैयाँ दिइ भुलाएर….

काठमाडौं २८ माघ । बच्चा चोरी गरेको आरोपमा तीनजना पक्राउ परेको छ । बिहीबार चोरी गरिएको बच्चासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेलुका ६ बजे जनकपुरधामको महराजसागर पाखरीबाट मोहमद अमिर राइनको सात महिने छोरा मोहमद अख्तर राइन सम्पर्कविहीन भएका थिए । सोही बच्चा चोरी गरिएको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाकी मनिषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वरकी किरण राम र महोत्तरी लोहरपट्टी नगरपालिका ४ का कृष्णकुमार यादवलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बुधबार साँझतिर बच्चालाई पोखरीको डिलमा उनकी ६ वर्षीया दिदी एलिजा खातुन खेलाइरहेकी थिइन् । एलिजालाई बच्चा चोरी गर्ने मनिषा मुखियाले ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाएर बच्चा लिएर भागेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका अन्य दुई जना मुख्यिाकै मतियार रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार बच्चा लिएर भाग्ने बेला मुख्यिासँग रहेको अर्को दुई वर्षीया बच्चा किरण रामको जिम्मा लगाएर भागेका थिए । किरणसँग रहेको दुई वर्षीया बच्चा मुख्यिाको रहे/नरहेकोबारे अनुसन्धान भइरहेको छ ।

कृष्णा यादवले मुख्यिालाई १३ हजार रकम दिएको पनि खुलेको छ । कृष्णाले मख्यिालाई रकम दिई बच्चा चोर्न उक्साएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अपहरण मुद्दा चलाउने तयारी गरेको छ । बच्चालाई परिवारको जिम्मा लगाइएको छ ।

यसअघि गएको पुस ७ गते पनि धनुषा प्रहरीले बच्चा अपहरण गरेको आरोपमा जनकपुरधाम १६ का सुरेश ठाकुरलाई पक्राउ गरेको थियो । उनले रासलाल मुख्यिाको एक वर्ष दुई महिनाको छोरा कृष्णा मुख्यिालाई चोरी गरी भाग्दै गर्दा नगराइनस्थित नेपाल–भारतको सीमा नजिकबाट पक्राउ गरेको थियो । अहिले प्रहरीले उनीमाथि पहरण तथा शरीर बन्धक मुद्दा चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस