यिनै हुन् फटाहा ३६ बर्षिय चिनियाँ नागरिक

आफैँले लगाएको कपडा मै फल्स बटम बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै रु चार करोडको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उनी पक्राउ पर्दा भन्सार जाँच पास गरेर अघि बढिसकेका थिए तर उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले शरीर खानतलासी गरेको थियो । सो क्रममा लगाएको कपडामा डिटेक्टर मेसिनले डिटेक्ट गर्न नसक्ने गरी फल्स बटम बनाएर सुन ल्याएको फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उनलाई सादा पोसाकमा परिचालित प्रहरी टोलीले पक्राउ गरेको थियो । हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आउने क्रममा विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्दा उनको शरीरमा सुन फेला पारिएको हो । “उसको हाउभाउ गतिविधि शङ्कास्पद देखिएपछि सादा पोशाकमा खटिएका प्रहरीले जाँच गर्दा झण्डै पाँच किलो सुन फेला पा¥यो, डिटेक्टरले समेत डिटेक्ट नगर्ने गरी कपडामा फल्स बटम बनाएर सुन ल्याएको पाइएको छ”, ढकालले भन्नुभयो ।

बरामद सुन अर्ध ठोस अवस्थाको छ । पेन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाएर एक पोका तथा भित्र वस्त्रका विभिन्न स्थानमा फल्स बटम बनाएर अन्य तीन गरी जम्मा चार पोका सुन बरामद भएको छ ।

सबै सुन चार किलो ८४० ग्रामको छ । यसमा ९८ दशमलव ६६ प्रतिशत सुन रहेको परीक्षणमा पत्ता लागेको छ । यसको बजार मूल्य झण्डै रु चार करोडको छ । उनलाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसअघि गत माघ १९ गते प्रहरीले मलद्वारभित्र लुकाएर सुन ल्याउँदै गरेका एकसहित तीन जनालाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरु पनि भन्सार जाँच पास गरेपछि नै पक्राउ परेका थिए ।

उनीहरुबाट झण्डै एक करोड बराबरको एक किलो १५५ ग्राम सुन तथा चार वटा आइफोन बरामद गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार शाह, मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिका–३ का दावा छिरिङ शेर्पा रहेका छन् । शेर्पाले भने मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस