तारिख नधाएपछि मन्त्री रायमाझीको पद संकटमा

रुपन्देही, लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको पद अदालती प्रक्रियाको बेवास्ता गर्दा तामेलीमा परेको छ। यसअघि एमाले नेतृत्वको सरकारमा राज्यमन्त्री बनेको भन्दै जसपाले गरेको कारबाहीविरुद्ध अदालतमा रहेको उनको मु द्दा तारेख लिन नगएका कारण तामेलीमा परेपछि उनलाई थप संकट परेको हो।

जसपाले उनी सहित मन्त्री बनेका सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डेलाई पार्टीबाट कारबाही गरे पनि अदालतको आदेशबाट पुनःबहाली भएपछि पुनः कारबाही गरेको थियो। सो कारबाहीपछि चारजना नै पार्टीले अन्याय गरेको भन्दै अदालत गएकोमा पछि सुमन शर्मा रायमाझीले गल्ती स्वीकार गर्दै पार्टीको निर्णय मान्ने भन्दै नयाँ गठबन्धनमा बसेर मन्त्री बनेकी थिइन्।

उनीसँगै मु द्दा लडेका पूर्वमन्त्री विजय यादवले आफ्नो, सन्तोष पाण्डे र कल्पना पाण्डेको मु द्दा यथावत् रहेको तर रायमाझीको तामेलीमा परेको जानकारी दिएका छन्। ‘अदालतको बेवास्ता गरेका कारण तारेख लिन पनि नआएको र कसैलाई विश्वास पनि नगरेका कारण यस्तो भएको हो, उहाँलाई पार्टीले कारबाही फिर्ता लिएको जनाए पनि अदालतमा कागजपत्र नपुगेकाले यस्तो भएको हो’उनले भने।

जसपाले कारबाही फिर्ता लिएर उनलाई नयाँ सरकारमा पठाए पनि कागजी सामग्री अदालतमा नपठाएको स्रोतले बतायो। कानून व्यवसायीहरूले बहालवाला मन्त्रीले अदालती प्रक्रियालाई बेवास्ता गर्नु राम्रो नभएको बताएका छन्। लुम्बिनीका न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले मुद्दा तामेलीमा परे पनि पुनः अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस