अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलाए संसद्मा एमसीसी पेश गर्न दिनुको रहस्य

काठमाडौं, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता संसद्मा पेश गर्न दिनुको रहस्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलाएका छन् ।

बुधबार माओवादी केन्द्रको वागमती प्रदेश कमिटीको बैठकमा सत्तारुढ नेपाली कांग्रेसले संसद्मा एमसीसी पेश गर्न नदिए सभामुखको राजीनामा माग्ने भनेपछि त्यसबाट जोगिन बाध्य भएर एमसीसी पेश गर्न दिइएको अध्यक्ष प्रचण्डले बताए छन्।

अध्यक्ष प्रचण्डले भने, ‘सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको हो कमरेडहरू । हामीले संशोधनबिना टेबल हुन नदिने धेरै प्रयास गरेको हो तर सकेनौं । चुनावपछि गरौं भन्दा पनि भएन । संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्ने सम्भव पनि छैन ।’

यसअघि माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलले कुनै पनि अवस्थामा एमसीसी संसद्मा पेश नहुने अडान राख्दै आएका थिए । तर, कांग्रेससँगको पटक पटककाे छलफलपश्चात् सत्तारुढ दलहरु संसद्मा एमसीसी पेश गर्न राजी भएका थिए । यद्दपि कारण भने खुलाइएकाे थिएन ।

अध्यक्ष प्रचण्डले यदि फागुन ८ गते संसद्मा एमसीसी पेस गर्न नदिएको भए देश पुनः एकचोटी दुर्घटनातिर अघि बढिसकेको बताएका छन् । उनका अनुसार संसद्मा एमसीसी पेश नभएको भए सरकार र प्रमुख प्रतिपक्ष दुवै रोष्टममा पुगेर सभामुखको राजीनामा माग्थे ।

प्रतिपक्षी नेकपा एमालेले पार्टी छाडेका १४ सांसदलाई संसद्बाट कारबाही नगरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्र्दै आएको छ । पार्टीले कारबाही गरेका सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेसम्म संसद् अवरोध गर्र्ने एमालको अडान कायमै छ ।

संसद् अवरोध भइरहेको यहीँ अवस्थामा सत्तारुढ कांग्रेस पनि एमसीसीको विषयलाई लिएर विरोधमा उत्रिँदा संकट उत्पन्न हुने भएकाले त्यसबाट बच्नका लागि जबर्जस्ती एमसीसी संसद्मा टेबुल गरिएको प्रचण्डको भनाइ छ ।संसद्मा एमसीसी पेश भए पनि संधोधन नभई पारित नहुने अध्यक्ष प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस