मोरङमा तीन छोरीले गरे आमाको काजकिरिया

हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि नेपाली समाजमा रहँदै आएको छ ।

तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन्, मोरङका दुई शिक्षिका दिदीबहिनी ।

मोरङ, सुन्दरहरैचा-४, बासबारी निवासी दिपा खतिवडा र सुनिता खतिवडा अहिले अर्की चेली सपना खतिवडा (सिलवाल) सहित आफ्नो दिवङ्गत आमाको सामूहिक क्रिया बसेका छन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्वीकार गर्दै उनीहरू क्रिया बसेका हुन् ।

मोरङ, सुन्दरहरैचा-४, बासबारी निवासी दिपा खतिवडा र सुनिता खतिवडा कोरा भित्र बसेर आमाको काजकिरिया गर्दै ।
खतिवडा दिदीबहिनी कोरा भित्र किरिया बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दिपा र सुनिता अविवाहित हुन् । अर्की बहिनी सपना भने विवाहित भएकाले सामाजिक रीति अनुसारकै संस्कार मानिरहेकी छिन् ।

आफ्ना आमाबाबुको मृत्यु पश्चात् छोराहरू कोरा पसेर किरिया गर्ने प्रचलन रहेपनि दिपा र सुनिता कोरामा किरिया बारिरहेका छन् । ५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछि दुई दिदीबहिनी किरियामा बसेको दिपा बताउँछिन् ।

‘सानो भाइ बोधराजको अल्पायुमै मृत्यु भएपछि आफूहरू तीन छोरी मात्र रहेको र धर्ममा महिलालाई किरिया बस्न हुँदैन भनेर रोक नलगाइएकोले मृतक आमालाई दागबत्ती दिएर किरिया गरेका हौँ’ । दिपा भन्छिन् ‘समाजमा छोरा नहुने परिवारहरूको हकमा दाई भाइ उनीहरूको छोरा र त्यो पनि नभए अन्यले काजकिरिया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्विकार्दैनौ ।’

लिङ्गको आधारमा छोरा र छोरीहरूले पनि आफूलाई जन्मदिने बुवा आमाहरुको रेखदेखका साथै मृत्युपछि गरिने संस्कारमा सहभागी हुन सक्छन् भने उदाहरणको रूपमा आफूहरू किरिया बसेको अर्की छोरी सुनिता बताउँछिन् ।

दिदीबहिनीको साहस देख्दा आमाको किरिया गर्न विवाहित भएकाले नपाएको तर आफ्ना दिदीबहिनीको कदमबाट आफू गौरवान्वित भएको सपनाले बताइन् । बुवा आमाको काजकिरिया छोराहरूले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले स्रहाना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस