रूससँग लड्न ६६,००० भन्दा धेरै युक्रेनी स्वदेश फर्किए, १२ लाख पलायन

काठमाडौं, रुसी हमलापछि धेरैजसो चर्चा युक्रेनको सेना रुसको भन्दा तुलनात्मक रूपमा थोरै भएकामा केन्द्रित देखिन्छ । बीबीसीका अनुसार अझै रुसी फौजले दबाबमा पारिरहँदा आफ्नो देशका लागि लड्न भनेर ६६,२२४ जना युक्रेनीहरू स्वदेश फर्केको युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन् । विदेशबाट फर्कने निर्णय गर्नेमध्ये एक ५६ वर्षीय फुटबल प्रशिक्षक समेत छन् ।

युरी भर्निडबले मल्डोभाको एउटा क्लबलाई गत वर्षको च्याम्पिअन्स लीगमा रिअल मड्रिडविरुद्ध अचम्मलाग्दो जित दिलाएका थिए । उनले आफ्ना छोराले रुसले हमला गरेको बताएकै बेला स्वदेश फर्कने निर्णय लिएको बताएका छन् ।

अर्कोतिर रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ । पलायन हुनेको आधाभन्दा बढी सङ्ख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ ।

बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन् ।

यूएनएचसीआरका अनुसार बाँकी धेरै देश भित्र र बाहिर हिँडिरहेका छन्। उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ । अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन् । आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब चार करोड ४० लाख थियो ।

प्रतिक्रिया दिनुहोस