जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उहाँले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्व तापमानमा आएको वृद्धिले हाम्रा हिमाल पग्लिदै गएका छन्, बेमौसमी वर्षाजस्ता विपद्ले कृषि र जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ, हामीले यी सबै समस्याका बारेमा हालै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि आवाज बुलन्द गरेका छौँ, यसको समाधानमा सबैको प्रयत्न आवश्यक छ ।”

उहाँले सरकारले सबै मन्त्रालयगत नीतिमा पनि जलवायु परिर्वतन न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिँदै सरकारको यस प्रयासमा ‘साथसाथै’को प्रयास पनि प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस