कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को मिर्गौला प्रत्यारोपण सफल,

हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘चम्सुरी’ पात्र बनेर चर्चा कमाएकी हास्य कलाकार पल्पसा डंगोलको बुधबार मिर्गौला प्रत्यारोपण सफल भएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको थियो । भाइ नाता पर्ने अजु डंगोलले उनलाई मिर्गौला दान गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ भनेका थिए । पल्पसालाई भाइ नाता पर्ने डंगोलले मिर्गौला दान गरेका थिए । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ ।

चिकित्सकले अहिले पल्पसाको अवस्था सामान्य रहेको र केही घण्टामा होस आउने जानकारी दिएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । पल्पसालाई अझै एकसाता अस्पतालमै राखिनेछ भने मिर्गौला दान दिएका अजुलाई चार दिनसम्म राखिनेछ । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो ।

मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए । दुई छोरीकी आमा पल्पसालाई उनका छोरीहरुले हेरचाह गरिरहेका छन्। उनलाई टेलिभिजन तथा सिनेमा क्षेत्रका अन्य कलाकारहरुले भेटेर हौसलासमेत बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस