नाबालिका गायिकाको बाबु आमाले खुलाय पहिला उजुरी नदिनुको कारण

नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर आफूहरूविरूद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित परिवारले माग गरेको छ।

बलात्कारविरूद्ध प्रहरीमा जाहेरी परेपछि पलका पक्षधरहरूले पीडितविरूद्ध सडकमा नाराबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसले दिक्क भएका नाबालिगका आमाबुबाले पलको पक्ष लिएर आफूहरूमाथि जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका हुन्।

शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।

बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक सञ्जालमा गरिएका गाली देखेर आफूहरू आत्तिएको बताइन्। उनले त्यसरी गाली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराइन्। पलसँग पीडित पक्षले पैसा खाएको, बार्गेनिङ गरेको, मुद्दा फिर्ता लिने र प्रहरी हिरासतमै विवाह गरिदिने भनेकोजस्ता कुरा झूटा भएको र त्यस्तो कुरा बोल्नेलाई कारबाही हुनुपर्ने उनको माग छ।

‘दस/बाह्रवटा भैंसी पालियो, खेतीपाती गरेर खाइयो, अहिलेसम्म कसैको दुई पैसा खा’छैन। छोरीलाई आरआइपी, हार्दिक श्रद्धाञ्जलि लेखेको र बोलेको देख्दा एकदम आत्तियौं। गाउँघरमा पनि कुरा काट्छन्। कुरा बुझेका मान्छेहरूले भने साथ दिनुभएको छ,’ नाबालिगकी आमाले भनिन्, ‘जो जसले हाम्रो चरित्र हत्या गरे, झुटा कुरा फैलाए उनीहरूलाई कारबाही होस्।’

न्यायका लागि कानुनी उपचारमा आउनुअघि पटकपटक पीडक पक्षले मिल्न दबाब दिएको आमाको भनाइ छ।

उनका अनुसार बलात्कारविरूद्ध जाहेरी दिन पहिलोपटक गत माघ ९ गते पीडित परिवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेको थियो। पलले फोन गरेर जाहेरी नदिन भने। अन्तिम अवस्थामा जाहेरी नदिइकन पीडित परिवार पोखरा फर्कियो।

भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घटनामा मिलापत्र गर्न जोड लगाए। त्यस दिन पलले केही सञ्चारकर्मीसमेत लगेर बलात्कारको उजुरी नदिन र मिल्न दबाब दिएका थिए।

पीडित पक्ष नमानेपछि पलले बलात्कारविरूद्ध जाहेरी दिए आफ्नो ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पीडितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए।

प्रतिक्रिया दिनुहोस