वीरगञ्जकी ९१ वर्षीया उपमेयर भन्छिन्ः फेरि चुनाव लड्छु

२०७२ साल भदौमा प्रस्तावित संविधानप्रति असहमति जनाउँदै मधेशवादी दलहरुले तेस्रो मधेश आन्दोलन चर्काए। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को नेतृत्वमा त्यो आन्दोलन दुई वर्षसम्म चल्यो।

२०७४ असोजमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा आन्दोलनको केन्द्र पर्साको वीरगञ्ज महानगरपालिको मेयरमा आन्दोलनको एक घटक संघीय समाजवादीका नेता विजयकुमार सरावगी निर्वाचित भए। ६३ जनाको ज्यान जाने गरी भएको मधेश आन्दोलनको केन्द्र वीरगञ्ज महानगरको मेयरमा समाजवादी फोरमका नेता विजयी हुँदा धेरैलाई उपमेयर पनि मधेशवादी दलकै नेताले जित्ने अनुमान थियो।

तर, त्यो अनुमानविपरीत वीरगञ्जको उपमेयरमा नेपाली कांग्रेसकी नेतृ शान्ति कार्की विजयी भइन्। त्यो पनि मेयरमा विजयी सरावगीभन्दा बढी मतका साथ। मेयरमा निर्वाचित सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा ८७ वर्षीया कांग्रेस नेतृ कार्की १९ हजार ६ सय सात मतका साथ विजयी भएकी थिइन्। उनकी प्रतिद्वन्द्वी समाजवादी फोरमकी नेतृ पिंकी यादवले १८ हजार ५ सय ३० मतमा चित्त बुझाउनु परेको थियो।

मधेश आन्दोलनको नेतृत्व गरेको समाजवादी फोरमकी उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार कार्की कसरी वीरगञ्जको उपमेयरमा निर्वाचित भइन् त? पत्रकार चन्द्रकिशोर झा प्रजातन्त्रका लागि पुर्याएको योगदानले नै उनलाई विजयी गराएको तर्क गर्छन्।

‘त्यसबेला मधेश आन्दोलनको केन्द्र वीरगञ्जका जनताले उहाँलाई माया गरेर उपमेयरमा जिताए,’ उनले नेपालखबरसँग भने, ‘मेयरभन्दा बढी मत ल्याउनुभएको थियो। प्रजातन्त्रमा उहाँको योगदान कति फराकिलो छ भन्ने कुरा वीरगञ्जबासीले गरेको सम्मानले देखाउँछ।’ ६ दशकदेखि निरन्तर कांग्रेसको राजनीतिमा लागेर पनि कुनै लाभको पद नलिएकी कार्कीलाई जीवनको अन्तिम संघारमा कांग्रेसले वीरगञ्ज महानगरको उपमेयरको उम्मेदवार बनाएको थियो।

९१ वर्षीया अविवाहित नेतृ कार्कीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी छन्। उनले लोकतान्त्रिक आन्दोलनका क्रममा आठ वर्ष जेल जीवन बिताएकी छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको नेतृत्वमा केन्द्रीय सदस्य भएर काम गरेको कार्कीसँग अनुभव छ।उनी आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा फेरि वीरगञ्ज महानगरको उपमेयर लड्न तयार देखिन्छन्। अन्य प्रतिस्पर्धी दलहरुले महानगरको मेयरमा महिलालाई अघि सारे कांग्रेसले आफूलाई टिकट दिनुपर्ने उपमेयर कार्कीको आग्रह छ।

‘महिला–महिलालाई मेयर दिने हो भने मेयरमा लड्छु,’ उनले नेपालखबरसँग भनिन्, ‘होइन भने उपमेयरमा फेरि लड्छु। किनभने बहुमत ल्याएर जितेको मान्छे हुँ। मलाई टिकट दिनुपर्छ भन्ने पार्टीसँग मेरो अनुरोध छ, फेरि लड्ने अठोट छ।’उपमेयरमा निर्वाचित भएपछि मेयर सरावगीसँग पटक–पटक विवाद गर्नुपरेको तितो अनुभव कार्कीलाई छ। संविधानले उपमेयरको कुर्सी दिए पनि गर्नुपर्ने कामका लागि ठोस अधिकार निर्धारण नगरेका कारण मेयरसँग विवाद हुने गरेको उनको भनाइ छ।

‘फलानो काम उपमेयरले गर्ने भन्ने छ तर माथिबाट आउँछ मेयर वा उपमेयर। यसो भनिसकेपछि मेयरले उपमेयरलाई अवसर दिँदैन,’ कार्कीले भनिन्, ‘उपमेयरको कुर्सीमात्रै नभएर अधिकार पनि तोकेर उपमेयरकै नाममा आउनुपर्यो। यो मेरो मात्रै कुरो होइन। हरेक उपमेयरको हो। कुर्सी दिइएको छ, ठोस अधिकार दिइएको छैन।’

संविधानमा उपमेयरका लागि ठोस अधिकार नतोकिएका कारण देशभरका उपमेयरलाई जनताको काम गर्न गाह्रो भएको उनले बताइन्। ‘ठोस अधिकार नदिइएकै कारण प्रायःजसो पालिकाहरुमा मेयर र उपमेयरको विवाद परेकै हुन्छ,’ उपमेयर कार्कीले भनिन्, ‘मेरै कुरो गर्नुहुन्छ भने आफ्नै पार्टीको मेयर होइन, विरोधी पार्टीको मेयर हुनुहुन्छ। मलाई दुःखै छ। विवाद हुन्छ।’

‘विभाग छुट्टयाएको छ तर अधिकार तोकेको छैन,’ कार्कीले थपिन्, ‘उपमेयरले गर्ने कामहरु तोकिनु पर्यो। यी यी कामहरु उपमेयरले मात्रै गर्ने भन्ने व्यवस्था गर्नुपर्यो।’ उपमेयर कार्कीको वीरगञ्जमा आफ्नो घर छैन। कांग्रेस पर्साका निवर्तमान सभापति अजय द्विवेदीका अनुसार उनी आफन्तकहाँ बस्दै आएकी छन्।

‘शान्ति दिदीले पुरै जीवन पार्टीमा समर्पित गर्नुभएको छ। उहाँको आफ्नो घर छैन,’ उनले भने, ‘कहिले कहाँ, कहिले कहाँ बस्नु्हुन्छ। स्थानीय ठेगाना छैन। फिरन्ते हुनुहुन्छ।’ उपमेयर कार्कीका अनुसार वीरगञ्जको उपमेयरमा निर्वाचित भएपछि उनको आफ्नो सम्पत्ति रित्तिएको छ। उनी उपमेयर हुनुअघि करोडपति भए पनि पछिल्लो समय ‘खाकपति’ बनेको बताउँछिन्।
‘उपमेयर नहुँदैको म करोडपति, उपमेयर भएपछि म खाकपति भएँ,’ कार्कीले भनिन्, ‘संघसंस्थामा आवद्ध छु, मठमन्दिरको सदस्य छु। सामूहिक ब्रतबन्ध गराउँछु। सडकमा तिज मनाउँछु। खर्च आफैँ बेहोर्छु।’

कार्कीले उपमेयर हुनु अघिसम्म आफन्तले खर्च बेहोर्ने गरे पनि उपमेयरमा निर्वाचित भइसकेपछि उक्त खर्च रोकिएको बताइन्। कांग्रेसको राजनीति र समाजसेवामा आफूले अंशमा पाएको सम्पत्ति उनले रित्याएकी छन्। ‘मेरो अंशको घर थियो असनमा। राजनीति र सेवा गर्दागर्दै त्यो बिक्री भयो,’ कार्कीले भनिन्, ‘मेरो दाजुले मलाई खर्च पठाउनुहुन्थ्यो, उपमेयर भएपछि पठाउन छोड्नुभयो। माग्न पनि लाज भयो।’

उनले उपमेयर भएपछि एकल र सामूहिक प्रयासमा अपांगता भएका व्यक्तिहरुका लागि घर र विद्यालय स्थापना गरेको पनि सुनाइन्। ‘मैले एक्लै र सामूहिक रुपमा थुप्रै काम गरेकी छु। पांगता भएकाहरुको घर बनाइदिएँ,’ कार्की भन्छिन्, ‘विद्यालय खोलिदिएँ। मलाई राष्ट्रपतिबाट पदक प्राप्त भएको छ।’ महानगरको उपमेयरको हैसियतमा उनले न्याय सम्पादन पनि गर्दै आएकी छन्। आफूले गरेका निर्णयहरुमा अदालतले समर्थन गर्दा कार्की औधी खुसी हुन्छिन्।

‘न्यायिक समितिको संयोजक भएर मैले गरेका निर्णयहरु जिल्ला अदालतबाट सदर भएका छन्,’ कार्कीले भनिन्, ‘मैले गरेका निर्णयमा जिल्ला अदालत र उच्च अदालतले समर्थन गरेपछि त्यो भन्दा खुसी के हुन्छ?’सत्तारुढ कांग्रेसमा आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्नेबारे तीन थरी धारणा रहेका बेला उपमेयर कार्की भने नेतृत्वले पार्टीको हित हुने गरी आगामी कदम चाल्नुपर्नेमा जोड दिन्छिन्। ‘तालमेल नेतृत्वहरुको विचार हो। नेतृत्वले जे गर्दा पार्टीको हित हुन्छ त्यही गर्नुहुन्छ भन्ने अपेक्षा छ,’ आगामी निर्वाचनमा चुनावी तालमेलबारे नेपालखबरको जिज्ञासामा उनले जवाफ दिइन्।

उपमेयर कार्की पार्टीमा झाँगिएको गुट–उपगुटप्रति चिन्तित देखिन्छिन्। कांग्रेसका संस्थापक नेताको संगत गरेकी कार्की अहिले पार्टीको नीति–निर्देशन बुझ्नै गाह्रो भएको बताउँछिन्। ‘यो पार्टीमा प्यानल भनेको के हो? यो राम्रो होइन,’ उनले भनिन्, ‘पहिले त गणेशमानले बोले ओके, कृष्णप्रसाद भट्टराईले बोलेपछि ओके। त्यस्तो अनुशासनमा बसेको मान्छु हुँ। अहिले त पार्टीको नीति, निर्देशन पनि बुझ्न गाह्रो छ।’

उपमेयर कार्की नयाँ पुस्ताका युवालाई आफूआबद्ध दलसँग नेतृत्व माग्नुपर्ने सुझाव दिन चाहन्छिन्। नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘जुन पार्टीमा छौँ त्यो पार्टीसँग नेतृत्व माग्नु पर्छ। अनुशासनमा बस्नुपर्छ। सिद्धान्तअनुसार नै हिँड्नपर्छ र जनसेवा गर्नुपर्छ। जनसेवाको भावना नै सबैभन्दा ठूलो हो।’ कांग्रेसको वीरगञ्ज नगर सभापति रहिसकेकी कार्की डेढ दशकअघि पर्सा जिल्ला उपसभापति थिइन्। उनी कांग्रेसको १४ औँ महाधिवेशनमा खुला महिलातर्फ प्रतिस्पर्धामा उत्रिएकी थिइन्।

९ जना विजयी हुने खुला महिलातर्फ कार्कीसहित ३० जना उम्मेदवार थिए। उनले २ सय ६० मत ल्याएकी थिइन्। महाधिवेशनमा कांग्रेस कार्यकर्ताका लागि कार्की आकर्षणको केन्द्र थिइन्। तर, मतमा भने उनलाई महाधिवेशन प्रतिनिधिले पत्याएनन्।

प्रतिक्रिया दिनुहोस