नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी, आवेदन दिने म्याद चैत ११ सम्म

काठमाडौँ- नेपाल प्रहरीले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।

चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र बिहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।
त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

लगानी प्रवर्द्धन, आर्थिक सहयोग र साझेदारी बढाउन साउदी राजकुमारसँग प्रधानमन्त्रीकाे आग्रह

काठमाण्डाै – नेपालकाे ‍औपचारिक भ्रमणमा रहनुभएका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवम् चासोका विस्तृत विषयका साथै बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो । प्रधानमन्त्रीले साउदी भिजन २०३० को सफलताको शुभकामना व्यक्त गर्दै नेपाली आप्रवासी कामदारको हित र दुई देशबीचको आर्थिक साझेदारी एवम् सहयोगलाई थप सुदृढ गर्ने उपायबारे छलफल गर्नुभएको थियो ।

द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने नेपाल सरकारको चाहना अभिव्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले व्यापार, वाणिज्य र पर्यटन प्रवर्द्धनमा जोड दिनुभएको थियो ।

कोभिड–१९ को महामारीका बेला साउदी सरकारले आफ्ना नागरिक सरह नेपालीप्रति देखाएको सद्भाव, औषधोपचार एवम् खोपको व्यवस्था गरेकामा प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभएको थियो । साउदी अरबबाट नेपाललाई प्राप्त विकास सहयोगले सकारात्मक परिवर्तन ल्याएको बताउँदै प्रधानमन्त्री देउवाले पर्यटन, भौतिक पूर्वाधार निर्माणलगायत तुलनात्मक लाभका क्षेत्रमा निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न विदेश मन्त्री साउदसमक्ष आग्रह गर्नुभएको भेटमा सहभागी एक अधिकारीले बताए ।

नेपाली कामदारको हकहितको रक्षालगायत विदेशी कामदारलाई उपयुक्त र द्रुत कानुनी संरक्षणको अभावमा साउदीमा नेपालीले झेल्नुपरेका समस्याको उचित व्यवस्थापनका निम्ति शीघ्र श्रम सम्झौता गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको थियो ।

प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै साउदी राजकुमारले नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमानदारीको मुक्तकण्ठले प्रशंसा गर्दै साउदी र नेपालीबीचको जनस्तरको सम्बन्धलाई नेपाली श्रमिकले सुदृढ एवम् सुमधुर तुल्याएका बताउनुभएको थियो ।

आजै दुवै देशका परराष्ट्रमन्त्री बीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो । दुई परराष्ट्र मन्त्रीले सहयोगात्मक द्विपक्षीय सम्बन्धका विविध क्षेत्रका बारेमा छलफल गर्दै वैदेशिक रोजगारी, नेपाली आप्रवासी कामदारको हित, हजयात्रीको सङ्ख्या वृद्धि, सम्बन्ध सुदृढीकरणलगायत पारस्परिक लाभका क्षेत्रमा सहयोगका सम्भावनाहरू खोजिनुपर्नेमा जोड दिनुभएको थियो । आर्थिक साझेदारीका साथै बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्न उहाँहरूबीच सहमति भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि परराष्ट्र मन्त्रीद्वयले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आपसी सम्झौता भएसँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न सहज भएको छ । त्यस सम्झौता द्विपक्षीय सहमतिमा कार्यान्वयन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । साउदी राजकुमार नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दिवाभोज आयोजना गर्नुभएको थियो ।

नेपाल र साउदी अरेबियाबीच १५ मार्च १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस