पेट्रोल डिजेल र ग्याँसको भाउ बढ्यो : अब पेट्रोलको नयाँ मुल्य १ सय ८२ रुपैयाँ ८१ पैसा

काठमाडौं :फेरि पनि पेट्रोलको मूल्यमा भारी वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पछिल्लो समय रुस–युक्रेन यु द्धको असर नेपाली उपभोग्य वस्तुमा पर्ने देखिएपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्न गएको हो । नेपाल आयल निगमले भारतीय समकक्षी इन्डियन आयल कर्पोरेसनबाट इन्धन खरिद गरी नेपालमा बेच्दै आएको छ । आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार बेच्ने भाउ तय गरी नेपाल आयल निगमलाई १५/१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ ।

आईओसीले नेपाल आयल निगमलाई बुधबार नयाँ मूल्यसूची पठाएको हो । जसअनुसार निगमले १ लिटर पेट्रोल किन्न १ सय १० रुपैयाँ १३ पैसा तिर्नुपर्ने भएको छ । उक्त खरिद मूल्यमा सरकारले उठाउने ५९ रुपैयाँ ४८ पैसा तथा निगम खर्च र प्राविधिक नोक्सानी जोड्दा काठमाडौंसम्मको खरिद लागत १ सय ८२ रुपैयाँ ८१ पैसा पर्न जान्छ ।

यो मूल्य अघिल्लो महिनाको तुलनामा २१ रुपैयाँले बढी हो । यस्तै डिजलको खरिद लागत प्रतिलिटर २९ रुपैयाँले बढेर १ सय ६९ रुपैयाँ ४४ पैसा कायम भएको छ । अन्य खर्चबाहेक पेट्रोल १६ रुपैयाँ, डिजल २४ रुपैयाँ र हवाइ इन्धन १९ रुपैयाँ महंगो बनेर आएको हो ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ छ भने डिजलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ रहेको छ । यसैगरी खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १ सय ५ रुपैयाँले बढेर २२ सय ४० रुपैयाँ ३४ पैसामा सिमित भएको छ । ग्यासको भाउ बढेपनि निगमलाई भने ६ सय ६५ रुपैयाँ घाटा हुने देखिएको छ । तेलको भाउ नबढाए निगमलाई १५ दिनमै ५ अर्ब ३० करोड घाटा हुने भएको छ ।

निगममा अहिले नयाँ कार्यकारी निर्देशक उमेश थानी रहेका छन् । इतिहासमै पहिलोपल्ट १५ दिनमै ५ अर्बभन्दा बढी घाटा निगमले सहनुपरेको निर्देशक थानीले बताए । काँग्रेस कोटाबाट निगम प्रमुख बनेका इन्जिनियर थानी प्रधानमन्त्री शेरबहादुर देउवाका खास कार्यकर्ता हुन् । निर्देशक थानी र प्रधानमन्त्री देउवाबीच पेट्रोलको भाउ बढाउने नबढाउने भन्ने विषयमा छलफल चलिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस