आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लियो

लन्डन । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।

ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

एक विज्ञप्तिमार्फत पीडित परिवारले घटनाको क्रममा गरेको सहयोगका लागि मर्सिसाइड प्रहरीलाई धन्यवाद एिको छ ।

प्रहरी सुपरिटेन्डेनट स्टिभ ब्रिजेलले भनेका छन्, “ बेल्ला राएले अकल्पनीय र डरलाग्दो परिस्थितिमा ज्यान गुमाउन पुगेकी छन् । हामी दुखित परिवारका साथ छौँ । सम्पूर्ण समुदाय नै यस घटनाबाट स्तब्ध हुन पुगेको छ । हामीले समुदायका यस्ता अप्रिय घटना फेरि नदोहरियोस् भनेर आगामी दिनमा सो क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएका छौँ ।”

प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ ।

पीडित परिवारका ५३ वर्षीया छिमेकी जोआन्ने म्याथ्युजले पिए न्युज एजेन्सीलाई भनेकी छन्, “ती बच्ची अत्यन्तै हिस्सी परेकी थिइन् । घर छेउबाट हिँड्दा अभिवादन गर्न म यो परिवारसँग भेट्ने गर्दथेँ । अत्यन्तै सुखी परिवार थियो । पूर्ण रूपमा हुर्केको त्यो कुकुर स्टाफोर्डसायर टेर्रियर वा पिटवुल हुनुपर्दछ ।”

ती बच्ची आफनो दाजुसँग खेल्दै गरेको दृश्य सम्झेर अन्य छिमेकीले पनि आँसु झारेका छन् ।

टेलिग्राफबाट ।

प्रतिक्रिया दिनुहोस