यसरी बित्दैछ जेल भित्र पल शाहको दैनिकी : ‘रुम पार्टनर’ भन्छन् ‘उहाँ त कति छिटो घुलमिल हुनु भो!’

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन्। तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना मात्रै छन्। कारागारको यो नयाँ भवन हो। दुईतले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी।

शाह कारागारको बन्दी बनेको ३ दिन मात्रै भयो। तर उनका ‘रुम पार्टनर’हरूले कारागार प्रशासनसँग भनेका छन्, ‘उहाँ त कस्तो फ्याङ्क हुनुहुँदो रहेछ। कति छिटो घुलमिल हुनु भो!’

यो तीन दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दीसँग घुलमिल भइसकेका हुन्। करिब ५ सय पुस्तकसहितको लाइब्रेरी छ। बेलाबेला पुस्तक पढ्छन्। तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ हुन्छ। भेटघाटबाट बचेको समय क्यारम्बोट खेल्छन्। ब्लकभित्र चेस खेल्ने सुविधा पनि छ।

कारागार प्रशासनले उनलाई सकेसम्म भेटघाट कम गर्न र आफ्ना निकटलाई मात्रै बोलाउन भनेको छ। ‘तपाईंलाई भेट्न खोज्नेजति सबैलाई भेट्नु पर्दैन, जसलाई तपाईंले पनि चिन्नहुन्छ उनीहरूलाई मात्रै भेट्नु भनेका छौं’, प्रशासनका एक कर्मचारीले भने, ‘हामी सबै उस्तै हो भनेका रहेछन्। उहाँको नर्मल बानी देखेर ब्लकका सबै खुसी छन्। उहाँ सेलिब्रेटी त हो, तर कानुनका हिसाबले एउटै नजरबाट हेर्नुपर्छ हामीले।’

उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ। उनी बस्ने ब्लकमा थरीथरी मुद्दाका कैदीबन्दी छन्। जिल्ला कारागारले मुद्दाअनुसार छुट्टाछुट्टै कैदीबन्दी राख्ने गरेको छैन। कारागारमा १३ महिलासहित २५७ जना कैदीबन्दी छन्।

बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। यही मुद्दामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशी भने अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाएर त्यसै दिन रिहा भएका छन्।

पलविरुद्ध जिल्ला अदालत नवलपुर परासी पूर्वमा पनि बलात्कारकै मुद्दा दर्ता भइसकेको छ। त्यहाँ थुनछेक बहस हुन बाँकी छ। त्यसका लागि उनलाई केही दिनमा नवलपुर लगिनेछ।

जिल्ला अदालत नवलपुरले थुनछेक बहसका लागि पल शाहलाई पठाइदिन पत्र पठाइसकेको छ। तर तनहुँ जिल्ला अदालतले अहिलेसम्म कारागारलाई केही भनेको छैन। अदालतबाट आदेश आएपछि उनलाई नवलपुर पठाइदिने जेलर नारायण अधिकारीले बताए।

तर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन्। उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत (पोखरा) मा पुनरावेदन दिने बताएका छन्। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस