जब देशमा संकट आउँछ त्यसबेला प्रचण्ड चाहिन्छ, म माओवादीको मात्र हैन देशकै अध्यक्ष हु (भिडियो)

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए हुन् ।

‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ’, उनले भने । कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकासले तीव्रता पाएको उनले बताए ।

भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको समेत उनले बताए । ‘हाम्रो छिमेकीदेखि टाढा–टाढाका मित्रहरुले पनि भरतपुरलाई विशिष्ट महानगरको रुपमा हेरेका छन्’, उनले भने ।
स्थानीय तह र प्रदेश तथा संघको चुनावमा फरक पार्टीसँग गठबन्धन गर्नुपरेको परिस्थितिमा समेत भरतपुर महानगरको टिम अक्षुण रहेको उनले बताए ।राष्ट्रिय राजनीतिकमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न भूमिका खेलेको भन्दै उनले आफ्नी छोरीको प्रंशासा गरे ।

शिलान्यास कार्यक्रममा बोल्ने केहि वक्ताले महानगरमा देखेको विकासको बारेमा पनि बोल्न हिच्किचाएको भन्दै उनले भने, ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । झण्डै ४१ किमी रिङरोड बनिसक्या छ । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवन आगामी साढे दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।प्रशासनिक भवनको लागि प्रदेश सरकारले सम्झौता रकमको ५० प्रतिशत स्रोत सुनिश्चितता गरेको प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको सुनिश्चितता भएको उनले बताए ।

अपुग रकम महानगरले व्यहोर्ने उनले बताए । १४ हजार १५२ वर्गमिटर क्षेत्रफलको हुने भवनमा दुई वटा लिफ्ट, ज्येष्ठ नागरिक प्रतिक्षालय कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष र सभाहल निर्माण हुने उनको भनाइ छ । भवन अपांगमैत्री, प्रविधिमैत्री र सेवाग्राहीमैत्री हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस